काठमाडौं– गत बुधबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले माओवादी युद्धको समयमा पाँच हजार जना मारेको जिम्मा लिने बताए । तत्कालिन सरकारले युद्धमा ज्यान गुमाएका मध्ये १२ हजार मारेको र आफुहरुले पाँच हजार मारेको उनको भनाइ थियो ।
युद्धको नेतृत्वकर्ता प्रचण्ड आफूले पाँच हजार मानिस मारेको भन्दै सार्वजनिक कार्यक्रमबाट जिम्मेवारी लिइरहेका छन् । गर्वका साथ उनले आफूले पाँच हजार नागरिक मारिएको जिम्मेवारी लिने, तर १२ हजारको नलिने बताएका छन् । उनले सधैं आफूलाई १७ हजार नागरिक मारेर आएको आरोप लगाउने गरेको भन्दै पाँच हजारको मात्र जिम्मेवारी आफ्नो रहेको उनले स्पष्ट पारेका हुन् ।

दुईजनालाई जिउँदै इँटाभट्टामा हालेर मारेको किटानी उजुरीको आधारमा कांग्रेस सांसद मोहम्मद आफ्ताव आलम अहिले पुर्पक्षका लागि थुनामा छन् । तर, सार्वजनिक कार्यक्रमबाट पाँच हजार नागरिक मारेको स्वीकार्ने प्रचण्ड भने खुलेयाम हिँडिरहेका छन् । सार्वजनिक रूपमै उनले जिम्मेवारी स्वीकार गरेको भन्दै अहिले उनको चर्को आलोचना भइहरेको छ ।
माओवादी युद्ध समाप्त भएर शान्ति प्रक्रिया हुँदै संविधान सभाबाट संविधान जारी भइ दुई तिहाइ समर्थन प्राप्त गरेर प्रचण्डको पार्टी नेकपाले सरकार चलाएको दुई वर्ष पुग्न लाग्यो । तर, माओवादी युद्धकालमा जनतालाई देखाइएका सपना र आशा उनले कति पूरा गरे ? तर, दुईपटक प्रधानमन्त्री भइसकेका प्रचण्डले पाँच हजार नागरिक मारेको स्वीकार्ने अभिव्यक्ति दिएर पीडितको घाउमाथि नूनचुक लगाउने काम गरे ।

उनी बेलाबेलामा विवादस्पद अभिव्यक्ति दिँदै आएका छन् । गएको मंसिरमा काठमाडौंमा आयोजित एउटा कार्यक्रममा उनले सशस्त्र द्वन्द्वका क्रममा भएका ’सबै राम्रा नराम्रा घटनाको जिम्मेवारी लिने’ बताएका थिए । यसअघि गएको साउनमा पनि एउटा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई ‘हेग पु¥याइए विश्वकै हिरो भएर निस्कने’ बताएर सनसनी मच्चाएका थिए ।
दश वर्षे माओवादी सशस्त्र युद्धमा कति मानिस मारिए भन्ने यकिन तथ्यांक नरहे पनि तत्कालीन शान्ति मन्त्रालयद्वारा गठित एउटा कार्यदलको अन्तिम प्रतिवेदनअनुसार द्वन्द्वकालमा कुल १८ हजार १६५ जना मारिएका थिए । यद्यपी यो तथ्यांकलाई सबै स्वीकारेका भने छैनन् ।