लोककल्याणकारी विज्ञापनबापतको रकम रोकिन्न: मन्त्री शर्मा

0
22
काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लोककल्याणकारी विज्ञापनबापत मिडियालाई उपलब्ध गराउँदै आएको रकम नरोकिने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ, उपत्यका प्रदेश समितिको आज ज्ञापनपत्र बुझ्दै उहाँले जुनसुकै हालतमा पनि लोककल्याणकारी विज्ञापनबापतको रकम उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो ।
सरकारका प्रवक्ता शर्माले भन्नुभयो, “अहिले रकम कटौती गरेकोभन्दा पनि विनियोजित बजेटको रकम नपुगेको हो, हामीले जेठ १ गते नै अर्थ मन्त्रालयमा पत्र पठाएर अपुग रकम माग गरेका छौँ ।”
अर्थबाट रकम आउने र यदि रकम नआएको खण्डमा पनि मन्त्रालयले आन्तरिक व्यवस्थापन गरेर रकम उपलब्ध गराउने उहाँको भनाइ छ ।  मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको कुनै मनसाय नभएको प्रस्ट पार्नुभयो ।
मन्त्रालय जहिल्यै पनि नेपाली मिडियाको हकअधिकारको पक्षमा भएको जनाउँदै मन्त्री शर्माले भन्नुभयो, “तपाइँहरुलाई म यति विश्वास दिलाउँछु, यो रकम जसरी पनि उपलब्ध गराइने छ ।” उहाँले आन्दोलनमा रहेको पत्रकार महासङ्घको उपत्यका प्रदेश समितिलाई आन्दोलन रोक्नसमेत आग्रह गर्नुभयो ।
“लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको कुनै मनशाय नभएकाले तपाइँहरुले आन्दोलन नै गर्न पर्दैन्थ्यो, अब आन्दोलन रोक्न आग्रह गर्दछु । लोककल्याणकारी विज्ञापनबापतको रकम उपलब्ध गराउन सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।
ज्ञापन बुझाउने क्रममा महासङ्घ केन्द्रका महासचिव रोशन पुरी, वरिष्ठ पत्रकार दामोदर दुवाडी, महासङ्घका प्रदेश अध्यक्ष श्रीजन झा, महासचिव टेनिस रोकालगायतको उपस्थिति रहेको थियो ।

https://www.ujyaalonepalnews.com/archives/27516

Previous articleप्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम माथि छलफल जारी
Next articleमनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका अतिक्रमित घरटहरा भत्काउने अभियान सुरु